
डोटी — जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा शनिबार नेकपा (एमाले) जोरायल गाउँपालिका कमिटी, डोटीले विशेष कार्यक्रमको आयोजना गरेको छ।
जोरायल गाउँपालिका–२, बुडरमा सम्पन्न कार्यक्रममा वृक्षारोपण गरिनुका साथै मदन भण्डारीको तस्वीरमा माल्यार्पण गरिएको नेकपा एमाले जोरायल गाउँपालिका कमिटीका अध्यक्ष चित्र राज भट्टले जानकारी दिए।


कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, वडा नं. २ का वडा अध्यक्ष वीर बहादुर दर्लामीलगायत पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।
अध्यक्ष भट्टका अनुसार कार्यक्रममा जननेता मदन भण्डारीको योगदानलाई स्मरण गर्नुका साथै वातावरण संरक्षणको सन्देश दिन वृक्षारोपण कार्यक्रम राखिएको हो।
कार्यक्रममा वक्ताहरूले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) लगायत समाज रूपान्तरणका विचारहरूलाई वर्तमान पुस्ताले आत्मसात् गर्दै व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याएका थिए।



