
दिपायल, डोटी ।
डोटी जिल्लाको पिपल्ला बजारमा शुक्रबार बैंकर्स क्लब डोटीको पुनर्गठन गरिएको छ। डोटी जिल्लामा रहेका विभिन्न बैंक शाखाका प्रमुख तथा कर्मचारीहरूको समन्वयमा आयोजित कार्यक्रममार्फत क्लबको पुनर्गठन गरिएको हो।

पुनर्गठित बैंकर्स क्लबको अध्यक्षमा NIC Asia बैंक, दिपायल शाखाका शाखा प्रबन्धक रमेश ओझा निर्विरोध चयन हुनुभएको छ। ११ सदस्यीय कार्य समिति गठन गरिएको उक्त क्लबमा कुमारी बैंकका प्रमुख सुरेन्द्र प्रसाद जोशी र NIMB बैंकका पुरुषोत्तम जोशी उपाध्यक्ष, Global IME बैंकका प्रमुख भास्कर प्रसाद जोशी सचिव, NMB बैंकका प्रमुख लक्ष्मण भट्ट कोषाध्यक्ष तथा Everest बैंक, शिखर शाखाका प्रमुख लोकेश जोशी सह-सचिव चयन हुनुभएको छ। साथै, अन्य पाँच सदस्यहरू पनि कार्यसमितिमा रहेका छन्।
कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष ओझाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीबीच सीप, अनुभव आदान–प्रदान, क्षमता अभिवृद्धि, आपसी सहकार्य, सामाजिक उत्तरदायित्व लगायतका क्षेत्रमा क्लबले सक्रिय भूमिका खेल्ने बताउनुभयो। साथै, रक्तदान, विपद् व्यवस्थापन, स्वास्थ्य शिविर, नगर सरसफाइजस्ता सामाजिक कार्यहरूलाई पनि क्लबमार्फत निरन्तरता दिइने उल्लेख गर्नुभयो।
उहाँका अनुसार बैंकर्स क्लब डोटीको सुरुवात २०७९ सालमा NIC Asia बैंकका प्रमुख तपराज भट्टको अध्यक्षतामा गरिएको थियो।


