
डोटी- दिपायल सिलगढी नगरपालिका–३ अन्तर्गत रहेको जुनतारा कृषि समूहले सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्नाको ४६ रोपनी जमिन वार्षिक दुई लाख रुपैयाँ भाडा तिरेर कपास खेती सुरु गरेको छ।
समूहकी अध्यक्ष जमुना खड्काका अनुसार कपास खेतीको लागि आवश्यक तालिम आसपान नेपाल संस्थाबाट, मल प्राप्त कृषि ज्ञान केन्द्र डोटीबाट तथा हाते ट्याक्टर, बीउलगायतका उपकरण र स्रोतहरू नगरपालिकाको कृषि शाखाबाट प्राप्त भएको हो।

गत वैशाखमा सामूहिकरूपमा सुरु गरिएको कपास खेतीले हाल साउन महिनामै फूल फुलाउन थालेको छ। कपास फुल्न थालेपछि अध्यक्ष खड्का अत्यन्त उत्साहित बनेकी छन्।
कपास उत्पादनपछि बजारको चिन्ता गर्नुपर्ने अवस्था नरहने जनाउँदै नगरप्रमुख विजय खड्काले नगरपालिकाले नै बजार व्यवस्थापनको जिम्मा लिने प्रतिबद्धता जनाउनुभयो। उहाँले कपास खेतीलाई ‘सपनाको बारी’ संज्ञा दिँदै, उत्पादन बढ्दै गएमा दिपायल सिलगढी नगरपालिका शिरक/डसनामा आत्मनिर्भर बन्ने विश्वास व्यक्त गर्नुभयो।“यो त शुरुवात मात्रै हो, आगामी वर्षहरूमा यसलाई अझ विस्तार गर्ने योजनामा छौं,” नगरप्रमुख खड्काले भन्नुभयो।
सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहहरूमध्ये कपास खेती सुरु गर्ने सम्भवतः दिपायल सिलगढी नगरपालिका पहिलो स्थानीय तह बनेको बताइएको छ।
कपास उत्पादनबाट कम्तीमा पनि शिरक र डसनामा आत्मनिर्भर हुन सकिने र त्यसअनुसार ठूलो मात्रामा नगरमै आर्थिक स्रोत रोकिने नगरपालिकाको अनुमान छ। लोपोन्मुख बन्दै गएको कपास खेती पुनः सुरु गर्ने दिपायल सिलगढी नगरपालिकाको प्रयास एक सराहनीय पहलकदमीका रूपमा हेरिएको छ।



