
हेमन्त जोशी । कैलाली – गौरीगंगा नगरपालिका–६, बनबेहडा, विजयनगर टोलका २८ वर्षीय टेकबहादुर रोकाया सिताखाली खोलामा मृत अवस्थामा फेला परेका छन्।
गत साउन १० गतेदेखि सम्पर्कविहीन रहेका रोकायाको शव मंगलबार दिउँसो चुरे गाउँपालिका–४, सिताखाली शिविरमाथि खोलामा भेटिएको इलाका प्रहरी कार्यालय चौमालाका प्रमुख योगेन्द्र बलायरले जानकारी दिनुभयो।

रोकाया बासकल्ला (तामा) खोज्न जाने भन्दै घरबाट अन्य साथीहरूसँग निस्किएका थिए। त्यसयता सम्पर्कमा नआएका कारण परिवारले प्रहरीसँग सहयोग मागेपछि खोजी कार्य तीव्र पारिएको थियो।
खोलामा बाख्रा चराउने क्रममा स्थानीय रमेश राजीले खोलामा घोप्टो परेर सडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
वर्षा र बाढीको कारणले खोलामा पानीको बहाव तीव्र रहेकाले बाढीले बगाएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि उनको मृत्युको कारणबारे स्पष्ट निष्कर्ष नआएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।शवलाई आवश्यक परीक्षणका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको छ।



