
डोटी, दिपायल — राष्ट्रिय स्वतन्त्र पार्टीले अध्यक्ष रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध अभियान सञ्चालन गरिरहेको सन्दर्भमा शनिबार दिपायल नगरपालिका–४, पिपल्ला बजारमा खुला सभाको आयोजना गरियो।
कार्यक्रमको अध्यक्षता रास्वपा डोटी जिल्ला सभापति केशव बलायरले गरेका थिए। कार्यक्रममा केन्द्रीय सह–प्रवक्ता रमेश प्रसाई, हस्ताक्षर अभियानका सचिव एवं रवि लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपाने, सुदूरपश्चिम प्रदेश उपसभापति नरेन्द्र खड्का, पूर्व महामन्त्री एवं प्रदेश सदस्य पारस बाहुन, बझाङ जिल्ला सभापति सत्यराज उपाध्याय, डडेलधुरा जिल्ला सभापति सुरेन्द्र अवस्ती, महिला नेतृ जानिका जोशी र जानकी कुमारी खड्का कुँवरलगायत वडा, पालिका र जिल्लास्तरीय नेताहरूको उल्लेख्य उपस्थिति थियो।

सभामा वक्ताहरूले हस्ताक्षर अभियानबारे जनतालाई जानकारी गराउनुका साथै पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा राखे। जिल्ला सभापति बलायरले वर्तमान लोकतान्त्रिक व्यवस्थामा समेत कानुनी राज्यको अनुभूति नहुने अवस्था सिर्जना भएको भन्दै शक्तिको दुरुपयोग गरी न्यायालयलाई प्रभावित पार्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे। उनले “देश नबन्नुको कारण आफ्ना गल्तीलाई सही ठान्ने मानिसहरूको संख्या बढ्नु हो” भन्दै अब परिवर्तनकारी सोच भएका नेपालीहरू एकजुट हुनुपर्ने बताए।
त्यसैगरी केन्द्रीय सह–प्रवक्ता रमेश प्रसाईले पार्टी अध्यक्ष लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध रास्वपा एकढिक्क भएर उभिएको स्पष्ट पारे। उनले विगतमा राजधानीको नाममा डोटीका जनतालाई भ्रमित पारेर भोट मागिएको स्मरण गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे नक्सा सार्वजनिक गरेर खोक्रो राष्ट्रवादको प्रचार गरेको तर अहिले भारतले लिम्पियाधुरा–कालापानी क्षेत्रमा दाबी गर्दा वर्तमान गठबन्धन मौन बसिरहेको आरोप लगाए।
हस्ताक्षर अभियानका सचिव प्रमोद न्यौपानेले पछिल्लो घटनाक्रमबारे विस्तृत जानकारी दिँदै अभियानको महत्व औंल्याए। रास्वपा डोटीका अनुसार सुदूरपश्चिमका हिमाली जिल्ला बाहेकका सबै जिल्लामा हस्ताक्षर अभियान सञ्चालन गरिनेछ।



