
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादतर्फको यात्राको मूल आधार उत्पादन हुने स्पष्ट पार्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले “समाजवादको यात्रातर्फ जाँदैछौं भने यसको आधार उत्पादन सघर्ष नै हो” भन्दै अब पार्टीले उत्पादनलाई प्राथमिकतामा राख्ने नीति लिएको बताउनुभयो ।

उहाँले माओवादी केन्द्रका कतिपय नेताहरू दलाल पुँजीवाद, बिचौलियातन्त्र र चन्दा प्रवृत्तिमा फस्दा जनतामा विश्वास घटेको उल्लेख गर्दै त्यसलाई तत्काल सुधार्नुपर्ने औंल्याउनुभयो । उहाँका अनुसार, “हाम्रा केही नेताहरू शान्ति प्रक्रियापछि समाजवादी बन्नुपर्नेमा उल्टै दलाल र बिचौलिया टाइपका बन्दै गए, जसले पार्टीलाई कमजोर बनाएको छ। अब प्रत्येक सदस्यले सोच र शैलीमा आमूल परिवर्तन गर्नैपर्छ।”
अध्यक्ष प्रचण्डले हेटौंडा महाधिवेशनले गरेको “युद्ध होइन, उत्पादन संघर्ष” भन्ने निर्णय अझै व्यवहारमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै अब समुदायमा फर्केर उत्पादनमुखी अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता दोहोर्याउनुभयो । उहाँले कृषि, उद्योग, जडीबुटी र पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्रलाई समाजवादको भ्रूण बताउँदै सहकारी आन्दोलनलाई पनि जनमुखी र समाजवादी मार्गमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
सरकारमा रहँदा दलाल, बिचौलिया र नोकरशाहीविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिको लडाइँ लडिएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले त्यस्ता प्रवृत्तिसँग सहअस्तित्व राख्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “दलाल, नोकरशाही र बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई माओवादी केन्द्रमा धेरै दिन स्थान छैन। हाम्रो पार्टी नै नेपालको रुपान्तरणकारी समाजवाद निर्माण गर्ने एक मात्र सम्भावना हो।”
बैठकमा पार्टी उपाध्यक्ष बहादुर पुन ‘पासाङ’ले विभागको अवधारणा प्रस्तुत गर्नुभयो भने केन्द्रीय सदस्य शरद सिंह भण्डारीले कार्यविधि प्रस्तुत गर्नुभएको थियो।



