
डाेटी — स्वास्थ्य कार्यालय डोटीले गरेको वार्षिक मूल्यांकनमा जोरायल गाउँपालिका स्वास्थ्य क्षेत्रमा जिल्लामा पहिलो भएको छ। स्वास्थ्य शाखाले ८३.९ अंक प्राप्त गर्दै जिल्लाका नौ स्थानीय तहमध्ये उत्कृष्ट ठहरिएको हो।
स्वास्थ्य कार्यालय डोटीले आर्थिक वर्ष ०८१/०८२ का स्वास्थ्य क्रियाकलापहरूको मूल्यांकन गरी बिहीबार सम्पन्न जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीमा परिणाम सार्वजनिक गरेको हो।
प्रथम स्थान प्राप्त गरेको जोरायल गाउँपालिकाको स्वास्थ्य शाखालाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको छ। सो पुरस्कार जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले स्वास्थ्य शाखा प्रमुख गोबिन्द बिष्टलाई प्रदान गरेका थिए।

स्वास्थ्य कार्यालय डोटीले गरेको मूल्यांकनमा के.आई.सिंह गाउँपालिका ८३.७ अंकसहित दोस्रो र आदर्श गाउँपालिका ८२.७ अंकसहित तेस्रो स्थानमा परेका छन्।
स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख दिल्ली रमण जोशीका अनुसार कार्यालयले प्रत्येक वर्ष विभिन्न स्वास्थ्य सूचकका आधारमा स्थानीय तहहरूको मूल्यांकन गर्दै आएको छ।
त्यस्तै, कार्यालयले जिल्लाका नौवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूलाई सम्मानका साथै कदरपत्र पनि प्रदान गरेको छ। साथै जिल्ला अस्पताल डोटी, सुजङ अस्पताल राजपुर, शैलेश्वरी अस्पताल दिपायल र आयुर्वेद कार्यालय दिपायललाई समेत कदरपत्र प्रदान गरिएको खोप कार्यक्रम संयोजक सूर्य विष्टले जानकारी दिए।
दुई दिनसम्म बुधबार र बिहीबार चलेको समीक्षा गोष्ठीमा जिल्लाका नौवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरू, नर्सिङ शाखाका प्रतिनिधि तथा जिल्ला अस्पतालका अधिकारीहरूको समेत सहभागीता रहेको थियो।



