देशकै सबैभन्दा पुरानो शिक्षक र शिक्षाकर्मीहरूको पेशागत संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय समितिको आयोजनामा काठमाडौँ बबरमहलको कार्की ब्याङ्क्युटमा २३ औँ राष्ट्रिय परिषद् बैठक भाद्र २ गते सम्पन्न भएको छ । नेपाली शिक्षक र शिक्षाकर्मीका महत्वपूर्ण पेशागत मुद्दाहरूको सम्बोधन हुने गरी अविलम्ब विद्यालय शिक्षा ऐन जारी होस् भन्ने प्रमुख मागसहितको २१ बुंदे काठमाडौँ घोषणापत्र जारी गर्दै बैठक सम्पन्न भएको हो । नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय समिति अध्यक्ष विष्णु प्रसाद भण्डारीको अध्यक्षतामा परिषद बैठक संचालन भएको थियो। देश भरीबाट ४५० जना भन्दा बढी शिक्षक संगठनका जिल्ला प्रदेश र राष्ट्रिय समितिका नेतृत्व तहका व्यक्तिहरूको परिषद् बैठकमा सहभागिता रहेको कुरा नेपाल राष्ट्रिय शिक्षक संगठन डोटीका अध्यक्ष पदमराज उपाध्यायले बताउनुभयो।
परिषद् बैठककको उद्घाटन समारोहमा प्रमुख अतिथि रहनुभएका सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीले भदौ १ गते परिषद् बैठक र नव निर्मित नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय शिक्षक भवनको उद्घाटन गर्नु भएको थियो। शिक्षक र शिक्षाकर्मी मैत्री विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने, शिक्षकका सेवा सुविधा समयानुकूल अन्य राष्ट्रसेवक कर्मचारी सरह व्यवस्था गर्नुपर्ने, विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिका लागि तिनै तहका सरकारले कम्तिमा पनि २० प्रतिशत बजेट शिक्षाक्षेत्रमा लगानी गर्नुपर्ने लगाएत विभिन्न समसामयिक पेशागत विषयहरुमा गहन छलफल भइ परिषद् बैठक सम्पन्न भएको सहभागीले बताएका छन ।