
डोटीको जोरायल गाउँपालिकाका किसानहरू यतिबेला बास्मती धान काट्नमा व्यस्त भएका छन्। जेठ-असार महिनामा रोपिएको बास्मती धान अहिले भित्र्याउने समय भएकाले यहाँका किसानको दिनचर्या खेतबारीमै बितिरहेको छ।

जोरायलमा मात्र फल्ने यो बास्मती धान नेपालका अन्य भागमा पाउन नसकिने विशेष बाली हो। यो धानको सुगन्ध र गुणस्तरका कारण बजारमा यसको माग पनि उच्च रहेको छ। यस वर्ष बास्मती धान राम्रोसँग फलेको किसानहरूले बताएका छन्।

बास्मती चामलको बजार मूल्य प्रति किलोग्राम १२५ रुपैयाँसम्म पुगेको छ। किसानहरूको लागि बास्मती धान मुख्य खाद्यबाली मात्र नभई आयस्रोत पनि हो। यहाँका किसानहरू यसलाई बिक्री गरेर दैनिक जीविकोपार्जन गर्दै आएका छन्।
हाल जोरायलका खेतमा किसानहरू धान काट्न र संकलन गर्न व्यस्त छन् । केही दिन अगाडि दसैंको रौनक सकेर अहिले किसान बास्मती धान काट्न र भित्र्याउन ब्यस्त देखिन्छ्न । केहि दिनमा बजारमा बास्मती चामलको आपूर्ति सुरु हुनेछ।



