
घोडाघोडी नगरपालिका–८, कल्जुकीका ३८ वर्षीय पहलवान देउवा पछिल्लो १० वर्षदेखि पोल्ट्री र कृषि व्यवसायमा सक्रिय छन्। घोडाघोडी पोल्ट्री प्रालि सञ्चालन गर्दै आउनुभएका देउवाले पोल्ट्रीसँगै अन्य कृषि व्यवसाय पनि गर्दै आउनुभएको छ। उहाँको पोल्ट्रीमा हाल २ हजार लेयर कुखुरा, २ हजार ब्रोइलर कुखुरा, २ सय बाख्रा, २ सय बंगुर, र माछा पालनका लागि ४ पोखरीहरू छन्।
कोरोना महामारीका बेला अण्डा बिक्री नभएर डम्पिङ गर्नुपर्ने अवस्थामा आइपुगेको उल्लेख गर्दै, उहाँले गवारो रोगको कारणले ५ हजार कुखुरा मरेको र यसबारे क्षतिपूर्ति नपाएको गुनासो गर्नुभएको छ। राष्ट्रिय बीमा कम्पनीले समयमा बीमा नगर्दा ठूलो क्षति भएको उहाँको आरोप छ। देउवाले सरकारी अनुदान र सहयोग नपाएको बताउँदै, राज्यलाई पटकपटक सुझाव दिए पनि कुनै कार्यान्वयन नभएको उल्लेख गर्नुभएको छ।

भारतीय तस्करी र कुखुरा व्यवसायमा समस्या

देउवाका अनुसार भारतीय व्यापारीहरूले गाउँमा डुलाएर कुखुराका चल्ला बेच्दा रोग फैलने जोखिम धेरै हुन्छ। यस्तै, नेपालमा कुखुरा उत्पादन भैरहेको समयमा बाहिरबाट सस्तोमा कुखुरा आयात हुँदा आफूहरू आर्थिक मारमा परेको उहाँको भनाइ छ। देउवाले कुखुरा व्यवसायीहरूबीच एकता हुन नसकेको र यसले थप समस्याहरू ल्याएको पनि बताउनुभएको छ।
कृषि व्यवसायमा लगानी र सफलता
पहलवान देउवाले २२ बिघा जमिनमा कृषि व्यवसाय गर्दै १५ देखि १६ कामदारहरूलाई रोजगारी दिनुभएको छ। बैंकबाट १० करोड ऋण लिएर व्यवसाय सञ्चालन गरिरहनुभएका देउवाले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन र आफैं पनि जीविकोपार्जन गर्न सफल भएको बताउनुहुन्छ। उहाँका अनुसार पोल्ट्री व्यवसायमा धेरै जोखिम भए पनि निरन्तरता दिँदा राम्रो फाइदा हुने देखिन्छ। आधुनिक प्रविधिको प्रयोग र ठूलो संख्यामा कुखुरा पालन संगै कृषि ब्यबसाय गर्दा अझ राम्रो फाइदा हुने उहाँको अनुभव छ।
पुरस्कार र सम्मान
कैलाली जिल्ला स्तरीय भिमदत्त उत्कृष्ट पुरस्कार र सुदूरपश्चिम स्तरीय सर्वोत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल पहलवान देउवा व्यवसायिक बजारिकरणमा पनि आफैं अग्रसर हुनुहुन्छ। बजारमा बिचौलियाहरूको ठूलो प्रभाव रहेको भन्दै, उहाँले गुणस्तरीय उत्पादन र ब्राण्डिङ गर्न सके व्यवसायमा अझ सफल हुने बताउनुभएको छ।देउवाको अनुसार “लगानी, उत्पादन र बजारलाई सही तरिकाले सञ्चालन गर्न सके, कृषि व्यवसायमा सफल भइन्छ।”



