
कैलाली, कात्तिक ७ – पशु सेवा तालिम केन्द्र धनगढीको आयोजनामा कात्तिक २ देखि ७ गतेसम्म ६-दिने व्यावसायिक कुखुरा पालन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा ९ जिल्लाका १६ जना व्यावसायिक कुखुरा पालक कृषकहरू सहभागी भएका थिए, जसले तालिमलाई अत्यन्त उपयोगी मानेका छन्।
तालिमको समापन समारोहमा सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशी प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले किसानहरूका समस्या समाधानका लागि मन्त्रालयको प्रतिबद्धता व्यक्त गर्दै, तालिमबाट किसानहरूलाई थप आर्थिक समृद्धि हासिल गर्न सहयोग पुग्ने बताए।


कार्यक्रममा विशिष्ट अतिथि भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीले कुखुरा पालनलाई परिवारका सदस्यहरू सहभागी गराई राम्रो आम्दानीको स्रोत बनाउन सकिने धारणा राखे।
पशु सेवा तालिम केन्द्रका निमित्त प्रमुख मनिषा बोहराले तालिमले किसानहरूलाई नयाँ ज्ञान सिक्न मद्दत गरेको बताउँदै, सिकाइलाई व्यावहारिक रूपमा प्रयोग गर्न कृषकहरूलाई प्रेरित गरिन्। सहभागी कृषकहरूले तालिममा कुखुरा पालनसँग सम्बन्धित नयाँ सीप र जानकारी प्राप्त गरेको अनुभव सुनाए।
यस तालिमले व्यावसायिक कुखुरा पालनलाई थप सुदृढ बनाउन र कृषकहरूको आयआर्जनमा टेवा पुग्ने विश्वास गरिएको छ।



