
डोटी, मंसिर १४ – डोटीका बडिकेदार गाउँपालिका, जोरायल गाउँपालिका, र बोगटान फुड्सिल गाउँपालिकामा यस वर्ष पनि करोडौं रुपैयाँको सुन्तला बिक्री हुने अपेक्षा गरिएको छ। पछिल्ला केही वर्षयता यी क्षेत्रका किसानले सुन्तला खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन्।
गत वर्ष मात्रै यी गाउँपालिकाबाट २ करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको थियो। किसानहरूले यस वर्ष पनि उस्तै आम्दानी हुने आशा गरेका छन्। व्यापारीहरूले किसानको बारीमै पुगेर प्रतिकेजी ७० देखि ८० रुपैयाँको दरले सुन्तला खरिद गरिरहेका छन्।

प्रत्यक्ष खरिद प्रणालीले किसानलाई बजारसम्म पुग्नुपर्ने झन्झटबाट मुक्त गराएको छ। यसले किसानहरूको समय र लागत दुवै बचत भएको छ। बडिकेदारका एक किसानले भने, “हामीले उत्पादन गरेको सुन्तला यहीँको व्यापारीले उचित मूल्यमा खरिद गरिरहेको छ। यसले हाम्रो जीवनस्तर सुधार्न मद्दत पुर्याएको छ।”
डोटीका पहाडी भूभाग र यहाँको जलवायुले सुन्तला खेतीका लागि उपयुक्त वातावरण सिर्जना गरेको छ। यसको फाइदा उठाउँदै किसानहरूले उत्पादन बढाइरहेका छन्।
तस्बिर: एकेन्द्र चन्द











