
अछाममा आफैंमाथि गोली चलाउने प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दलाई संगठनबाट बर्खास्त गर्न सिफारिस गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले प्रहरी उपरीक्षक (एसपी) बिनोद शर्माको नेतृत्वमा गठन गरेको छानविन समितिले चन्दलाई बर्खास्त गर्न सिफारिस गरेको हो।
१३ मंसिरको राति मदिरा सेवन गरेर भैरवस्थान प्रहरी चौकीका इन्चार्ज चन्दले आफैंमाथि पेस्तोल प्रहार गरेका थिए। प्रहरी स्रोतका अनुसार उनले सुरुवातमा चौकीमा कार्यरत हवल्दार गगन चन्दमाथि गोली ताक्न खोजेका थिए। हवल्दार भागेपछि चन्दले ‘फिल्मी शैलीमा एक्सन गर्न सक्ने’ भन्दै आफैंमाथि पेस्तोल चलाएको देखिएको छ।


छानविन समितिको प्रतिवेदनअनुसार, चन्द विगतमा पनि प्रहरीमाथि पेस्तोल ताक्ने जस्ता विवादास्पद गतिविधिमा संलग्न भएका थिए। यसअघि कैलालीमा कार्यरत रहँदा उनले एक प्रहरी निरीक्षकमाथि पनि पेस्तोल ताकेको घटना सार्वजनिक भएको थियो।
प्रदेश प्रहरी कार्यालयका एसपी नवराज कार्कीका अनुसार चन्द हाल नेपाल प्रहरी अस्पताल, काठमाडौंमा उपचाररत छन्। उनका अनुसार, छानविन समितिले प्रतिवेदन बुझाइसकेको र चन्दको बयानपछि थप कारवाही प्रक्रिया अघि बढाइनेछ।
प्रहरी संगठनको छविमा नकारात्मक प्रभाव पार्ने चन्दको क्रियाकलापका कारण उनलाई बर्खास्त गर्न सिफारिस गरिएको हो। अब चन्दमाथि थप कानूनी प्रक्रिया अघि बढ्ने तयारी गरिएको छ।



