
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) प्रकरणमा संलग्न रहेको आरोपमा सांसद पदबाट निलम्बित हुनु भएको छ। संघीय संसद् सचिवालयले बुधबार एक सूचना जारी गर्दै लामिछाने निलम्बनमा परेको जानकारी गराएको हो।
सचिवालयद्वारा जारी सूचनामा भनिएको छ, “सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएको अवस्थामा मुद्दाको किनारा नभएसम्म सम्बन्धित पदाधिकारी स्वतः निलम्बन भएको मानिने कानुनी व्यवस्था अनुरूप यो सूचना जारी गरिएको हो।”


यसअघि, जिल्ला प्रहरी कार्यालयले मंगलबार सभामुखलाई पत्र पठाउँदै ऐनको दफा २७ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो। उक्त पत्रको आधारमा संसद् सचिवालयले कानुनी प्रक्रिया अनुरूप लामिछानेलाई निलम्बन गरेको हो।
रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा समाधान नभएसम्म सांसद पदमा फर्किन नपाउने व्यवस्था छ। यस घटनाले संसद् र राजनीतिक वृत्तमा ठूलो प्रभाव पारेको छ।
सांसद पद गुमेपछि लामिछाने र उनको पार्टीको आगामी रणनीतिका विषयमा चासो बढेको छ। लामिछानेको निलम्बनसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले यो परिस्थितिमा कस्तो कदम चाल्छ भन्नेमा सबैको ध्यान केन्द्रित छ।



