
कञ्चनपुरमा किशोरीलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीका अनुसार शनिबार राति भीमदत्त नगरपालिका–६ स्थित शिव मन्दिर नजिक नहरमा साथीसँग हिंडिरहेकी १६ वर्षीया किशोरीलाई दुई व्यक्तिले अपहरण गरेका थिए।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१६ निवासी ३५ वर्षीय महेश सिंह खत्री र ३३ वर्षीय धुर्व जोशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले जानकारी दिए।

उनीहरूले आफूलाई प्रहरी भएको झुटो दाबी गर्दै किशोरीलाई मोटरसाइकलमा राखेर अपहरण गरेका थिए। घटनापछि प्रहरीले आइतबार बिहान भीमदत्त नगरपालिका–१६ वसन्तपुरबाट किशोरीलाई उद्दार गरेको छ।
अपहरणका लागि प्रयोग गरिएको बा.५५.प.९६१३ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। पक्राउ परेका दुवै जनाविरुद्ध अपहरण र शरीर बन्धकसम्बन्धी कसूरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



