
सुदूरपश्चिम प्रदेश सरकारले पहिलो पटक प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला प्रदर्शनी २०८१ आयोजना गर्ने भएको छ। माघ २६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने यो प्रदर्शनीमा कृषि, पशुपन्छी र मत्स्य व्यवसायसँग सम्बन्धित विभिन्न प्रविधि, उत्पादन र व्यवसायहरूको निशुल्क प्रदर्शनी गरिने छ।
प्रदर्शनीमा आफ्नो कृषि उद्यम, व्यवसाय र प्रबिधिको प्रदर्शन गर्न इच्छुकहरूका लागि स्टलहरू निशुल्क उपलब्ध गराइनेछन्। यस मेलामा व्यवसाय विस्तारको अवसर र नेटवर्किङको अवसर प्राप्त गर्न इच्छुक सबैलाई सहभागी हुन अनुरोध गरिएको छ।


प्रदर्शनीको मुख्य आकर्षणमा प्रदेशका ९ वटै जिल्लामा उत्पादित रैथाने कृषि, पशुपन्छी र मत्स्यजन्य उत्पादनहरूको प्रदर्शनी हुनेछ। साथै, विज्ञहरूसँग समसामयिक कृषि र पशुपन्छी विकासका विषयमा छलफल गर्ने अवसर पनि प्रदान गरिनेछ।
यस वर्षको प्रदर्शनीमा आधुनिक कृषि उपकरण र मेशिनरीहरूको प्रदर्शन र खरिद-बिक्री समेत गरिने छ। गैरकाष्ठ वन पैदावार, घरेलु उद्योगका उत्पादन र पोषणयुक्त रैथाने परिकारहरूको अवलोकन तथा खरिद-बिक्री पनि गरिने छ।
प्रदर्शनीमा सुदूरपश्चिमका विभिन्न जातीय समुदायका रैथाने गीत र नृत्यहरू प्रस्तुत गरिनेछन्, जसले स्थानीय संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने अवसर दिनेछ।
यो प्रदर्शनी सुदूरपश्चिम प्रदेश सरकारको पहलमा आयोजित गरिएको हो र नि:शुल्क सहभागिता र अवलोकनको व्यवस्था गरिएको छ। कृषि र पशुपन्छी व्यवसायमा संलग्न सबैलाई यो अवसरको फाइदा उठाउन आग्रह गरिएको छ।



