
धनगढी – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीको अपराध अनुसन्धान समूहले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले धनगढी उप-महानगरपालिका वडा नम्बर ४, बसपार्कस्थित मिलनसार गेस्ट हाउसबाट नरेश साउँदलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार माघ २८ गते राति करिब ८:०० बजे प्र.ब.ना.नि. बासुदेव अवस्थीको कमाण्डमा खटिएको टोलीले गेस्ट हाउसमा बसिरहेका डोटी, बोगटान गाउँपालिका वडा नम्बर ३, मेल्टा निवासी २६ वर्षीय नरेश साउँदलाई नियन्त्रणमा लिएको हो। प्रहरीले खानतलासी गर्दा साउँदको झोलाभित्र लुकाइ-छिपाइ राखिएको टाउकोदेखि पुच्छरसम्म ८ फिट २ इन्च लम्बाइ र २ फिट २ इन्च चौडाइ भएको चितुवाको छाला बरामद गरेको छ।

पक्राउ परेका साउँदलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, धनगढी कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ।



