
धनगढी, – कैलालीको धनगढी उप-महानगरपालिका विभिन्न स्थानहरूमा गरिएको प्रहरी अपरेशनमा लागुऔषध (खैरो हेरोइन) सहित ६ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीको मोटरसाइकल गस्ती टोली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले ब्यारेलस्थित डोके बजारबाट धनगढी आउँदै गरेको सु.प.प्र.०१०१२ प ७४९५ नम्बरको मोटरसाइकललाई शंका लागि जाँच गर्दा चालकले लगाएको हेल्मेटभित्र लुकाइ-छिपाइ राखेको ५ ग्राम १०० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो। सोही मोटरसाइकलका चालक धनगढी उप-महानगरपालिका–५ निवासी १९ वर्षीय विनोद गिरी र पछाडि सवार बाजुरा, बुढीगंगा नगरपालिका–४ निवासी २३ वर्षीय देवेन्द्र खातीलाई नियन्त्रणमा लिइएको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले धनगढी उप-महानगरपालिका–१९ लल्लीपुरबाट १६ वर्षीय अनुज ओखेडा र २७ वर्षीय रुपेन्द्र रावललाई चेकजाँच गर्दा ९३० मिलिग्राम खैरो हेरोइन फेला पारी पक्राउ गरेको छ।
यसैबीच, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोस्ट जुगेडाबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उप-महानगरपालिका–१२ बि गाउँबाट ३५ वर्षीय शेर बहादुर भण्डारी र २१ वर्षीय आशिष ढाँटलाई चेकजाँच गर्दा ८५० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट जम्मा ६ ग्राम ८८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। उनीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



