
काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पूर्वराजाका समर्थकहरूले तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिई प्रदर्शन गरेका थिए। तर, प्रदर्शनका क्रममा निषेधित क्षेत्र उल्लंघन गर्दै निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक प्रतिष्ठान तथा यातायातका साधनमा तोडफोड भएको प्रहरीको भनाइ छ।

प्रहरीले घटनाबाट भएको क्षतिको विवरण सार्वजनिक गर्दै गम्भीर ध्यानाकर्षण जनाएको छ। तीनकुने घटनामा परी कीर्तिपुर–४ निवासी सविन महर्जनको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको छ। त्यस्तै, तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेका छन्।
घटनाका क्रममा नेपाल प्रहरीका ५३, सशस्त्र प्रहरी बलका २२ तथा प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको प्रहरीले जनाएको छ।
यस्तै, नौ वटा सरकारी सवारी साधन तथा छ वटा सरकारी वा निजी विवरण नखुलेका सवारी साधनमा आगजनी भएको छ। प्रहरीका अनुसार विभिन्न १४ स्थानमा आगजनी, नौ संस्थामा तोडफोड तथा एक स्थानमा लुटपाट भएको छ। यसबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभएको छ।



