
डोटी, – डोटीको सिलगढीमा व्यावसायिक बाख्रा पालन प्रवर्द्धन गर्ने उद्देश्यले तीन दिने तालिम सम्पन्न भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा चैत २८ गतेदेखि ३० गतेसम्म सञ्चालन गरिएको तालिममा जिल्लाका २९ जना बाख्रा पालक कृषकहरूको सहभागिता रहेको थियो।
तालिममा बाख्रा पालनको परिचय, महत्व, बजार व्यवस्थापन, रोग नियन्त्रण, प्रजनन व्यवस्थापन, हेरचाह, खोरको व्यवस्थापन लगायतका विषयमा व्यावसायिक जानकारी दिइएको थियो। कार्यालय प्रमुख चन्द्रकान्त पन्तका अनुसार तालिमले कृषकहरूलाई वैज्ञानिक र आधुनिक विधिबाट बाख्रा पालन गर्न अभिप्रेरित गरेको छ।


समापन कार्यक्रममा दिपायल सिलगढी नगरपालिका–६ का वडा अध्यक्ष नरेश मलासीले पछिल्ला वर्षहरूमा बाख्रा पालन विपन्न वर्गको आयआर्जनको भरपर्दो स्रोत बन्दै गएको बताए। उनले तालिमले कृषकलाई व्यावसायिकरणतर्फ अग्रसर गराउने विश्वास व्यक्त गरे।
सहभागी कृषकहरूले तालिमबाट बाख्रा पालनसम्बन्धी व्यवहारिक ज्ञान प्राप्त भएको भन्दै आगामी दिनमा आधुनिक विधिमा आधारित बाख्रा पालन गर्न उपयोगी हुने प्रतिक्रिया दिएका छन्।
तालिममा सहभागीलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले प्रदान गर्दै आएको सेवा र सुविधाबारे समेत जानकारी गराइएको थियो। तालिम केन्द्रको आ.व. २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो।



