
कञ्चनपुरः कञ्चनपुरमा एक युवकले चुइगमले बेरेर प्लास्टिकमा राखिएको २ दशमलव २५ ग्राम लागुऔषध निलेर लुकाउन खोज्दा पक्राउ परेका छन्।

बेदकोट नगरपालिका–६ का अभिषेक धामीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भीमदत्त नगरपालिका–११ बाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार शंका लागी चेकजाँच गर्ने क्रममा धामीले मुखमा लुकाएको लागुऔषध निलेका थिए। त्यसपछि उनलाई तत्काल महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारका लागि लगिएको थियो।
उपचारका क्रममा धामीको दिसाबाट चुइगमले बेरेर प्लास्टिकमा राखिएको २ दशमलव २५ ग्राम लागुऔषध फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ। हाल धामी प्रहरी नियन्त्रणमा छन् र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ।



