
डोटी — “धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ जोरायल गाउँपालिका, डोटीले २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८२ असार १५ का दिन वडा नं. ४, जिजिकोटमा अनौपचारिक रूपमा विविध कार्यक्रमहरू गरेर मनाएको छ।
दही चिउरा खाने परम्परागत दिनको अवसर पारेर आयोजित कार्यक्रममा पालिका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, वडा नं. ४ का अध्यक्ष नन्दराज भट्टसहितका वडाध्यक्षहरू, विभिन्न सरकारी निकायका कर्मचारी, किसान, पत्रकार, कलाकार तथा लि बर्ड सक्षम परियोजनाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा रोपाइँ प्रदर्शन, खेतमै रमाइलो संगै स्थानीय परिकारको खाद्यान्न र आपसमा अनुभव आदान–प्रदानजस्ता क्रियाकलाप गरिएका थिए। कार्यक्रमलाई विशेष बनाउने उद्देश्यले सहभागीहरूले खेतमै हातेमालो गर्दै रोपाइँमा सहभागी भएका थिए।

कार्यक्रममा अध्यक्ष दुर्गादत्त ओझाले जोरायल गाउँपालिका बास्मती धान उत्पादनका लागि प्रसिद्ध क्षेत्र भएको उल्लेख गर्दै स्थानीय जातका धानको संरक्षण, प्रचार–प्रसार तथा वैज्ञानिक तरिकाबाट उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “जोरायलको बास्मती धानको स्वाद, सुगन्ध र गुणस्तर अद्वितीय छ। यसलाई ब्रान्डिङ गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनेतर्फ हामी प्रतिबद्ध छौं।”
उपाध्यक्ष जमुना बोहराले भन्नुभयो, “गाउँपालिकाको समृद्धिको मूल आधार कृषि हो। यस्ता कार्यक्रमले हामी सबैलाई खेत र किसानको महत्व झल्काउँछ। हामी यस्ता सहकार्यलाई अझै संस्थागत गर्दै लैजाने प्रयासमा छौं।”
त्यसैगरी, वडा नं. ४ का अध्यक्ष नन्दराज भट्टले भन्नुभयो, “धेरै समयपछि गाउँको खेतमा यति उत्साह देखियो। किसानहरूको मेहनत देख्दा गर्व लाग्यो। यो हाम्रो संस्कृति र उत्पादन दुवैको संरक्षण गर्ने अवसर हो।”
जोरायल बास्मती धान उत्पादनका लागि प्रसिद्ध क्षेत्र मानिन्छ। गाउँपालिकाले यस्ता कार्यक्रमले स्थानीय धानको संरक्षण, उत्पादन वृद्धि र प्रचारमा सहयोग पुग्ने विश्वास लिएको छ। कार्यक्रम सफल बनाउन लि बर्ड सक्षम परियोजनाको उल्लेखनीय सहयोग रहेको आयोजक पक्षले जनाएको छ।


