
हेमन्त जोशी कैलाली – “जहाँ इच्छा, त्यहाँ उपाय” भन्ने भनाइलाई जीवनमा उतार्दै गौरीगंगा नगरपालिका–६, बनबेहडा (कैलाली) का युवा महेश जोशीले आफ्नो घरको छतमै लोभलाग्दो कौसीखेती सुरु गरेका छन्। पेशाले शिक्षक रहेका महेशले तीनतले घरको छतमा तरकारी र दोस्रो तलामा फूल रोपेर वरिपरि हरियाली फैलाएका छन्।
महेशले बजारबाट ल्याएका विभिन्न क्यारेटमा माटो र प्रांगारिक मल भरि छतभरि सिमी, हरियो साग, बोडी, सम्दिनी सागलगायतका तरकारी खेती गरेका छन्। छतमा फैलिएको हरियाली देख्दा हिँड्दा–हिँड्दै जो कोहीको नजर उनैतर्फ मोडिन्छ। तरकारी मात्र होइन, उनले गड्यौला मल र अन्य प्रांगारिक मल उत्पादन गर्न पनि थालेका छन्।

तरकारी खेती सुरु गरेपछि महेशको दिनचर्या नै बदलिएको छ। बिहान–साँझ छतमा गमलामा काम गर्दै गर्दा उनको घर नजिकै चिया खाने जमघट देखिन्छ। उनी भन्छन्, “चिया–गफ र राजनीति गर्नेभन्दा समयको सदुपयोग गर्दै तरकारी खेती गर्न सबैलाई सल्लाह दिन्छु।”
महेशको कौसीखेती हेर्न टोल–छिमेकका मानिसहरू आउने क्रम बढ्दो छ। फुर्सदिलो समय सदुपयोग गर्ने, तरकारी पसल सञ्चालन गर्ने र पर्याप्त जमिन नभए पनि उत्पादन सम्भव हुने प्रमाणस्वरूप उनले यसलाई ब्रान्ड बनाउन चाहेका छन्। उनको पहलबाट प्रेरित भई धेरै युवा र महिलाले घरको छत, कौसी र बरन्डालाई करेसाबारीका रूपमा प्रयोग गर्न थालेका छन्।
महेशका अनुसार, कौसीखेतीका लागि आवश्यक प्रांगारिक मल घरायसी फोहोर व्यवस्थापन गरेर नै तयार गर्न सकिन्छ। उनी छतमा खेतीका लागि माटो र मलको व्यवस्थापन गर्ने तथा इच्छुकलाई तालिम दिने योजनामा छन्। उनका अनुसार, “हरेक घरको छतमा तरकारी फलाउने हो भने बिदेशबाट आयात हुने विषादीयुक्त तरकारीमा कमी ल्याउन सकिन्छ।”
महेशको यो हरित प्रयास न केवल आत्मनिर्भरता, बरु वातावरणमैत्री जीवनशैलीको प्रेरणादायी उदाहरण बनेको छ।


